10/07/2013

एकादेशको यौटा सफल प्रेम कहानी

शान्त तलाउझैं म, सोचिरहँदा
विस्मृति बिनाका तिम्रा स्मृतिहरू 
मेरा मानसपटलमा यसरी ठोकी दिन्छन्
तरंगित हुन्छु म,
अनि मेरो मन मेरो धड्कनलाई सोध्दछ 
आफु हार्दा जित्नुको अनुभव
एकबाट दुइ हुनुको मज्जा !!

अनुभूतिहरु :
हावाले बोक्छन् तिम्रा सुगन्धका मिठासहरु
बर्सिरहेका पानी र रुझाउने तिम्रा यादहरु
एक जोडी ढुकुरका गुन्गुनाउने  कुराहरु
र हाम्रै प्रेम बोल्ने लयबद्ध रागहरु 
त्यसैले त लागिरहन्छ मलाई आजकल
अब फगत पुलकित हुनुछ हरपल
र मुग्ध हुनुछ तिम्रो कल्पनामा
अनि बुन्नुछ बग्रेल्ती सपनाहरु
सप्तरंगी इन्द्रेणी जस्ता 
मनको आकाशमा
फैलिनुछ फराकिलो भएर
दूर दूरसम्म, अन्त्यहीन
मनमौजी भएर गर्नुछ माया तिमीलाई
अनि महसुस गर्नुछ मायाका पलहरु
तिमीलाई आफ्नो भनिरहँदा
पाएको आत्म सन्तुष्टीको
तरङ्गमा तरंगित हुँदै  
भन्नुछ
एकादेशको यौटा सफल प्रेम कहानी
हरेक प्रेमी जोडीहरुलाई .. |

No comments:

Post a Comment