4/01/2013

कबिता: हारेको सम्बन्ध


म,
विश्वासको डोरीले बाँधिएर
गुलाबी सपनाहरुको आकाशमा
तिम्रा लागि जूनझैं मुस्कुराउने
कति रातहरुको निद्रा बुनेर
आएको थिएँ
तिम्रो नामको सिन्दुरले सिंगारिएर ।

त्यस बेला,
कति पूलकित भएको थियो
मेरो मन
भोलीका ती अनगिन्ति बिहानीहरुको निम्ति
जहाँ सूर्यका प्रथम किरणले
जब चुम्नेछ हामीलाई
अनि महसुस गर्नेछु म
म हुनुको अर्थ
मेरो अस्तित्वको बोध
र फक्रनेछु छातीभरी
गुलाफनै गुलाफ़ भएर
अनि, तिमी मालीझैं लागि पर्नेछौ
गोड्न,सम्हाल्न र सपार्न
हाम्रो प्रेमको बगैंचा
जहा बसन्त उदाइ रहने छ
हरेक महिना, बर्ष र जीवनभर

तर किन अपरझट !
पृथ्वीले सूर्यलाइ एक फन्को नमार्दै
अनि सूर्यले हामीलाई प्रथम स्पर्श पनि नगर्दै
तिमी आफैले
हाम्रो सम्बन्धको त्यो कलिलो घामलाई
पश्चिमतिर ढकेल्दै छौ ?
मेरो विश्वासको डोरीले
मलाइ ऐठन पारिरहेछ
अनि निद्राबिनाकै सपनाहरुले
तर्साइ रहन्छ तिमी बनेर

म सोधी रहेछु, आफैंलाई
गंगा जस्तै पबित्र बगेर
तिम्रो मायाको सागरमा
मिसिएको केही प्रहरमै
किन छाल जस्तै धकेली रहेछौ
किनारामा मलाई ?
र फ्याँकी रहेछौ
आफु पुरुष हुनुको पासा
मेरो जीवनको खालमा
तिम्रा ती सकुनी हातहरुले
जितिरहेछन् तिम्रो अभिमानको निम्ति
तर तिमीलाई के थाहा
तिमीले हारी सकेको आफ्नै जीवन
आफ्नैहरुका बाट ।।

No comments:

Post a Comment