मायाले दिएको हो मन, सम्झियौ सामान फ्याँकिदियो
गलत थियौ दिएँ सुझाव, भैदियो अपमान फ्याँकिदियो ।
तिमीलाई बनाउन यहाँसम्म पुराउन मैले म बिर्सिएँ
तिमीले भन्यौ त रहेछस् बेइमान फ्याँकिदियो ।
एउटा सुन्दर सपना थियो, रहरहरुले भरिएको
कसको नजर लाग्यो भैदियो अफगानिस्थान फ्याँकिदियो ।
भाषणमा समाज जोड्छु भन्नुभो, मैले पहिला मन जोडौ भने
चुनावको रणनिति पो रहेछ, धत् बनायो हनुमान फ्याँकिदियो ।
जे जस्तो थियो देश थियो, आफ्नो भन्नु केही त थियो
आयो मनलाग्दी गर्यो च्यात्यो संविधान फ्याँकिदियो ।
मान्छे जस्तो बैगुनी, स्वार्थी अरु कोहि हुँदैन रहेछ
पाएपछि प्रियाको काख, भन्दो हो सिरान फ्याँकिदियो ।
०८/२१/२०२१
पार्कभिल, मेरिल्याण्ड
No comments:
Post a Comment